काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा समुदायलाई लक्षित गरी भ्रामक र धम्कीपूर्ण सामग्री प्रसार गरेको आरोपमा सिरहामा एक जना पक्राउ परेका छन्।
लहान नगरपालिका–२४ का मनोज कुमार महतो, जसलाई ‘मनोज मानव’ नामले चिनिने प्रहरीको भनाइ छ, पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनले लामो समयदेखि उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी, राजनीतिक व्यक्तित्व तथा सरकारी कर्मचारीलगायतलाई लक्षित गरेर आधारहीन सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका थिए।
प्रहरीका अनुसार त्यस्ता सामग्रीका कारण सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठामा असर पर्नुका साथै समुदायबीचको सद्भाव र सार्वजनिक शान्तिमा समेत असर पर्न सक्ने अवस्था देखिएपछि उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।पक्राउ पुर्जी जारी भएपछि खोजी गर्ने क्रममा महतोलाई उदयपुरको चतरा पुलपारि रहेको एक होटलबाट असोज ४ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उदयपुर प्रहरीको समन्वयमा पक्राउ गरिएका उनलाई थप अनुसन्धानका लागि सिरहा ल्याइएको हो।
सिरहाका प्रहरी प्रमुख बासुदेव पाठकका अनुसार महतोविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक तथा भ्रामक सामग्री फैलाएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी करिब आधा दर्जन उजुरी तथा मुद्दा दर्ता भएका छन्।प्रहरीले महतोले आफू पूर्वजनतान्त्रिक लडाकु भएको दाबी गर्दै केही व्यक्तिलाई धम्की दिएको र आफूसँग स्वचालित हतियार रहेको बताउँदै हतियारका तस्बिर पठाएर आपराधिक लाभ लिन खोजेको सूचनासमेत प्राप्त भएको जनाएको छ।प्रकरणमा थप अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्य तथा प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।