काठमाडौँ। मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेको बताइएको छ।
स्थानीयका अनुसार शनिबार मनास्लु आरोहणका क्रममा उनीहरू तेस्रो शिविरसम्म पुगेका थिए। राति अचानक हिमपहिरो खसेपछि टेन्टभित्र रहेका उनीहरू त्यसैमा पुरिएका थिए। मौसम खराब भएपछि भारी वर्षा भएको र अन्य आरोहीहरू सुरक्षित स्थानका लागि दोस्रो शिविरतर्फ झरेका थिए। तर गुहा र शेर्पा भने तेस्रो शिविरमै बसेका थिए। मकालु एड्भेन्चरमार्फत आरोहणमा गएका उनीहरूको शव सोमबार हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं ल्याउने तयारी गरिएको छ।
मनास्लुमा यो सिजन आरोहणका क्रममा भएको यो अर्को दुःखद घटना हो। केही दिनअघि पनि सिंगापुरका ५० वर्षीय आरोही ल उई सेङ्ग र २० वर्षीय आरोहण सहयोगी तासि शेर्पाको मृत्यु भएको थियो। सेङ्गको दोस्रो शिविरबाट तल झर्ने क्रममा मृत्यु भएको थियो भने तासि शेर्पा टेन्टभित्र मृत फेला परेका थिए। यस सिजन मनास्लु आरोहणका लागि ४८० जना विदेशी आरोहीले अनुमति लिएको जनाइएको छ। पछिल्ला घटनाले प्रतिकूल मौसम र हिमपहिरोका कारण मनास्लु आरोहणमा जोखिम बढेको देखाएको छ।