काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण विभिन्न स्थानमा मौसम बदली हुनुका साथै वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। महाशाखाले जनाएअनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणाली थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा छ। यता, मनसुनको न्यून चापीय रेखा भने हाल औसत अवस्थाभन्दा दक्षिणतर्फ रहेको छ। हाल कोशी र बागमती प्रदेशका सबैजसो भूभाग तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली देखिएको छ।
कोशी र बागमतीका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। सोमबार हिमाली तथा पहाडी भूभाग, मधेस प्रदेश र बागमती तथा गण्डकीका तराई क्षेत्रमा सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा वा हिमपात हुनसक्ने जनाइएको छ।
मधेस प्रदेश तथा कोशी र बागमतीका तराई भूभागका केही स्थानमा पनि वर्षा हुनसक्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सम्भावित बाढी, पहिरो तथा अन्य मौसमजन्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।