काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशमा वडा अधिवेशनको प्रक्रिया जारी छ।
शनिबार र आइतबारभित्र अधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार कर्णालीका करिब ७७ प्रतिशत वडामा अधिवेशन सम्पन्न भएको कांग्रेस प्रदेश सभापति ललितजङ शाहीले जानकारी दिएका छन्। उनका अनुसार केही वडामा अधिवेशन हुन बाँकी रहे पनि अधिकांश स्थानमा आइतबार बेलुकासम्म प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ। उनले कर्णालीका विभिन्न क्षेत्रमा अधिवेशनको काम निरन्तर भइरहेको बताए। केही दिनअघिसम्म कर्णाली कांग्रेस दुई समूहमा विभाजित देखिए पनि वडा अधिवेशन सुरु हुँदासम्म अधिकांश नेता एउटै प्रक्रियामा सहभागी भएका छन्। पूर्वमन्त्री पूर्णबहादुर खड्का औपचारिक रूपमा कुनै पक्षमा नखुले पनि उनका निकट मानिने अधिकांश नेताहरू अधिवेशनमा सक्रिय देखिएका छन्।
खड्का पक्षधर मानिने पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सभापति ललितजङ शाहीलगायत नेताहरू वडा अधिवेशनमा खटिएका छन्। खड्काले भने आफू अहिले कुनै पक्षमा नलाग्ने धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। यसैगरी, यसअघि शेखर कोइराला पक्षमा रहेका अधिकांश नेताहरू पनि वडा अधिवेशनमा सहभागी भएका छन्। यद्यपि, देउवा पक्षका केही नेताहरू आफ्नो समूहमा यथावत् छन्। मुगुका पूर्वमन्त्री ऐनबहादुर शाही र प्रदेश प्रवक्ता दमन शाही देउवा पक्षमै रहेको बताइएको छ।
युवा नेता भूपेन्द्रजंग शाहीले भने सहमतिबिना अधिवेशन सुरु गरिएको भन्दै आफू सहभागी नहुने बताएका छन्। उनले सहमतिबिना अधिवेशन अघि बढाउनु पार्टी विभाजनको औपचारिक रेखा कोर्नुजस्तै भएको टिप्पणी गरेका छन्। यसअघि खड्का पक्षधर मानिएका जीवनबहादुर शाही, ललितजङ शाही, पूर्वमन्त्री हृदयराम थानी तथा प्रदेशका पूर्वमन्त्री र सांसदहरूमध्ये अधिकांश वडा अधिवेशनबाट प्रतिनिधि चयन भइसकेका छन्। दैलेखमा पूर्वकेन्द्रीय सदस्य सीता राना तथा कर्णालीका पूर्वमन्त्री एवं देउवा पक्षका नेता घनश्याम भण्डारी पनि महाधिवेशन प्रतिनिधिका रूपमा चयन भइसकेका छन्।