काठमाडौं ।सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली प्रहारबाट घाइते भएका १९ वर्षीय नीरजकुमार यादवको शल्यक्रिया गरी शरीरमा रहेको गोली निकालिएको छ।
शनिबार साँझ गोली लागेपछि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएका यादवको उपचारका क्रममा चिकित्सकले उनको दायाँ खुट्टाको माथिल्लो भागमा लागेको एउटा बुलेट निकालेका हुन्। यादव देवानगञ्ज–१, कप्तानगञ्जका स्थानीय रहेको प्रहरीले जनाएको छ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ‘लाली’ नामले चिनिने जयकिशोर यादव र विष्णुकुमार यादव रहेका छन्। उनीहरू देवानगञ्ज–२ का स्थानीय हुन्।
घटनामा संलग्न भएको आशंकामा थप चार जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए। प्रहरीका अनुसार फरार व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूको खोजी भइरहेको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवतीसँग सम्बन्धित विवादका कारण गोली प्रहार भएको देखिएको छ। यद्यपि, घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।घाइते यादव र गोली प्रहारमा संलग्न भनिएका व्यक्तिहरू पूर्वपरिचित रहेको प्रहरीले जनाएको छ। यादवको शरीरबाट निकालिएको बुलेट परीक्षण गरेपछि गोली कुन हतियारबाट चलाइएको थियो भन्नेबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।