काठमाडौं ।बाराको सिमरामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको घटनामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सिमरास्थित सम्झना स्टाफ होटलमा शनिबार साँझ भएको घटनामा ३५ वर्षीय शेरबहादुर खड्काको घाँटीमा चक्कु प्रहार भएको थियो । गम्भीर घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।घटनामा संलग्न रहेको आरोपमा सिमरा उपमहानगरपालिका–२ का आयुष राईलाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार शनिबार साँझ करिब साढे ५ बजे राईले खड्कामाथि चक्कु प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
घटना भएपछि फरार भएका राईलाई प्रहरीले खोजी गर्ने क्रममा सोही राति धानबारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।