काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमान्लाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ५८ वर्षीय गन्दुराम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा ४५ वर्षीया श्रीमती बिमला राईमाथि धारिलो हतियार प्रहार गरेका थिए। घटना भएपछि गन्दुराम आफैं गएराति करिब साढे १२ बजे अस्थायी प्रहरी पोस्ट माडीबास पुगेका थिए। उनले प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घाइते अवस्थामा बिमलालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार पुर्याएको थियो। तर उनको उपचारकै क्रममा आज बिहान करिब सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले गन्दुरामलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण तथा अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।