काठमाडौं । नेपालमा मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रसहित अन्य प्रदेशका केही भूभागमा चट्याङसहित वर्षा हुन सक्नेछ।
त्यस्तै, आज राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले यात्रा गर्दा तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।