काठमाडौं । नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष तथा रुसको प्रसिद्ध बोल्सोई थिएटरको २५०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित रसियन हाउसमा नेपाल–रुस थिएटर सप्ताह सुरु भएको छ।
शैली थिएटरको आयोजनामा शुक्रबारदेखि सुरु भएको थिएटर सप्ताह एक सातासम्म सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले गरेका हुन्। उद्घाटन समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी दूतावासका मिनिस्टर–काउन्सिलर रिन्चेन रक्षाेभ, सांस्कृतिक क्षेत्रका व्यक्तित्व तथा आमन्त्रित अतिथिहरूको उपस्थिति थियो। परम्परागत रूपमा पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो।
कार्यक्रममा रुसियन हाउसकी प्रमुख तथा निर्देशक अनास्तासिया खोख्लोभाले नेपाल र रुसबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन वार्षिकोत्सवको विशेष महत्व रहेको बताइन्। उद्घाटन अवसरमा रुसी साहित्यकार अन्तोन चेखभको चर्चित एकाङ्की नाटक ‘स्वान सङ’ (अन्तिम गीत) प्रस्तुत गरिएको थियो। नवराज बुढाथोकीको निर्देशनमा तयार पारिएको नाटकको नेपाली अनुवाद शैली थिएटरका सल्लाहकार महेश पौड्यालले गरेका हुन्।
नाटकमा वरिष्ठ रंगकर्मी सुनील पोखरेलले मुख्य भूमिका निर्वाह गरेका छन् भने सब्बु गुरुङले उनको मञ्चीय सहयात्रीका रूपमा अभिनय गरेकी छन्। नाटकले वृद्ध कलाकारको स्मृति, एक्लोपन, आत्मखोज र उमेरसँगै पनि कायम रहने सिर्जनात्मक प्रतिभाको कथा प्रस्तुत गर्छ। कार्यक्रममा मन्त्री तिमल्सिनाले विद्यार्थी जीवनदेखि नै अन्तोन चेखभ आफूलाई प्रिय लेखक रहेको उल्लेख गरे। उनले प्रस्तुत नाटकलाई कलाकारको जीवन र आत्मपहिचानसँग जोडिएको कथाका रूपमा व्याख्या गरे।
रुसी दूतावासका मिनिस्टर–काउन्सिलर रिन्चेन रक्षाेभले थिएटरलाई जीवन जिउने एउटा विशेष शैलीका रूपमा प्रस्तुत गर्दै नेपाल–रुस सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिने यस्ता कार्यक्रमको महत्त्व औँल्याए। थिएटर सप्ताहअन्तर्गत सर्वसाधारणका लागि सेप्टेम्बर १९ देखि २१ सम्म रसियन हाउसमा दैनिक दुईपटक नाटक प्रदर्शन गरिनेछ। दिउँसो २ः३० बजे र साँझ ५ः३० बजे प्रस्तुति राखिएको आयोजकले जनाएको छ।
सप्ताहमा महेश पौड्यालको मौलिक नेपाली नाटक ‘भावमल्ली’ समेत मञ्चन हुनेछ। नवराज बुढाथोकीको निर्देशन रहने उक्त नाटकमा शैली थिएटरका कलाकार आकाश भुजेल जैसीसहित अन्य कलाकारको अभिनय रहनेछ। नाटकमा पद्मकन्या बहुमुखी क्याम्पसको संगीत विभागले सांगीतिक साथ दिनेछ। नेपाल र रुसबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। सम्बन्ध स्थापनाको ७०औँ वर्षमा आयोजित थिएटर सप्ताहले दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई थप विस्तार गर्ने उद्देश्य राखेको छ।