काठमाडौं । विराटनगरमा ठूलो रकम हुण्डीमार्फत कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार हुण्डी कारोबार भइरहेको सूचनापछि शङ्कास्पद व्यक्तिहरूको बैंकिङ कारोबारमाथि निगरानी र विश्लेषण गरिएको थियो। त्यस क्रममा दुवै जनाले अन्य व्यक्तिसँग मिलेर व्यक्तिगत तथा विभिन्न फर्मका बैंक खातामार्फत एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३ सय ४० रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।पक्राउ परेका उनीहरूमाथि हुण्डी कारोबार, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअन्तर्गत अनुसन्धान अघि बढाइएको छ।दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटनामा संलग्न अन्य व्यक्ति तथा कारोबारको थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।