काठमाडाैँ । पाल्पा कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत र उद्धारका लागि ८३ हजार रुपैयाँ सहयोग गरेका छन्।
आफ्नै क्षमताअनुसार रकम संकलन गरी उनीहरूले विपद्का बेला पीडितप्रति मानवीय साथ देखाएका हुन्। पाल्पा कारागारका २३७ कैदीबन्दीले संकलन गरेको उक्त रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कारागार प्रशासनले जनाएको छ। कारागारका प्रशासक भगवानभक्त अर्यालका अनुसार हाल कारागारमा २२४ पुरुष र १३ महिला गरी २३७ कैदीबन्दी छन्। उनीहरूले कारागारभित्र सञ्चालन गर्दै आएका विभिन्न सीपमूलक तथा उद्यमशील गतिविधिबाट प्राप्त आम्दानीमध्ये केही रकम बाढीपीडितका लागि छुट्याएर सहयोग गरेका हुन्। कैदीबन्दीले कारागारभित्र मुढा बनाउने, सिलाइ–बुनाइ गर्ने, डोको–नाम्लो तयार पार्ने, बात्ती बनाउनेलगायतका काम गर्दै आएका छन्। अर्यालले सहयोग रकम ठूलो नभए पनि विपद्को समयमा कैदीबन्दीले पीडितप्रति देखाएको मानवीय भावना महत्वपूर्ण रहेको बताएका छन्।