काठमाडौं । चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय टेलिफोन कललाई गैरकानुनी रूपमा बाइपास गर्ने गतिविधिमा संलग्न रहेको आशंकामा एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा २५ वर्षीय कथराम निथिन रहेका छन्। उनलाई बिहीबार भरतपुर महानगरपालिका–२ आँपटारी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले नेपाल टेलिकम तथा एनसेल आजियाटा लिमिटेडसँगको प्राविधिक सहकार्यमा अनुसन्धान अघि बढाउँदै उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार निथिनबाट बरामद भएका उपकरणहरूको प्रारम्भिक परीक्षण गर्दा ती सामग्री भीओआईपी सञ्चालनमा प्रयोग भएको देखिएको छ। यस्तो गतिविधि दूरसञ्चार ऐन, २०५३ को दफा ४७५० अन्तर्गत गैरकानुनी कार्य मानिन्छ।अनुसन्धानका क्रममा प्रहरीले उनको साथबाट २६ वटा मोबाइल फोन, दुईवटा ल्यापटप, एनसेलका ७७ वटा र नेपाल टेलिकमका १८ वटा सिमकार्ड तथा चारवटा सीपीयू बरामद गरेको छ।
धेरै संख्यामा सिमकार्ड र विद्युतीय उपकरण प्रयोग गरी विदेशबाट आउने टेलिफोन कललाई नियमित दूरसञ्चार प्रणाली छल्दै अवैध रूपमा बाइपास गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।पक्राउ परेका निथिनमाथि जिल्ला प्रहरी कार्यालय चितवनबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।