काठमाडौं ।यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक सवारी साधनको नयाँ दर्ता सर्तसहित खुला गरेको छ।
विभागका अनुसार असोज १ गतेदेखि नयाँ सवारी साधन दर्ता प्रक्रिया सुरु हुनेछ।विभागले सातवटै प्रदेशका यातायात हेर्ने सम्बन्धित मन्त्रालय तथा देशभरका स्थानीय तहलाई पत्र पठाउँदै दर्तासम्बन्धी नयाँ व्यवस्था कार्यान्वयन गर्न जानकारी गराएको छ। काठमाडौँ उपत्यका र उपत्यकाबाहिरका लागि भने फरक–फरक मापदण्ड तय गरिएको छ।नयाँ व्यवस्थाअनुसार उपत्यकाबाहिर सञ्चालन तथा दर्ता हुने विद्युतीय सार्वजनिक यात्रुवाहक सवारी साधनलाई प्राथमिकता दिइएको छ। विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।
काठमाडौँ उपत्यकामा भने सवारीको चाप र रुट व्यवस्थापनलाई ध्यानमा राख्दै सबै प्रकारका सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला गरिएको छैन। हाललाई स्कुल बस र पुराना सवारी विस्थापन गरी त्यसको सट्टामा नयाँ सवारी दर्ता गर्ने ‘सट्टाभर्ना’ प्रक्रियामा मात्र दर्ता अनुमति दिइएको छ।यसअघि विभागले जेठ ७ गते सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म नेपालमा आयात हुने सार्वजनिक सवारी साधनको दर्ता रोक्ने निर्णय गरेको थियो। त्यसपछि साउन १८ गते सार्वजनिक मालवाहक सवारीको दर्ता पुनः खुला गरिएको थियो।
अब यात्रुवाहक सवारीको दर्ता पनि निश्चित सर्त र मापदण्डसहित खुला गरिएको विभागले जनाएको छ। निर्णय कार्यान्वयनका लागि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालय तथा देशभरका स्थानीय तहलाई आवश्यक निर्देशन पठाइसकिएको छ।