काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै नागरिकसँग संवाद र जिम्मेवार व्यवहार देखाउन आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राईले विपद्को समयमा सरकारले नागरिकलाई राज्यको उपस्थिति महसुस गराउन नसकेको आरोप लगाए। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले ठूलो क्षति पुर्याउँदा पनि सरकारको प्रारम्भिक प्रतिक्रिया प्रभावकारी हुन नसकेको उनको भनाइ थियो। राईले विपद्का बेला प्रधानमन्त्री संसद्मा उपस्थित नभएको र नागरिकका गुनासा सुन्न पर्याप्त पहल नगरेको भन्दै आलोचना गरे। उनले विपद् व्यवस्थापनमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको दाबी गरे। सरकारले सत्ताको बलमा नागरिकलाई डर देखाउने, आलोचकलाई शत्रुका रूपमा हेर्ने तथा प्रतिपक्ष र सञ्चारकर्मीप्रति धम्कीपूर्ण व्यवहार गर्ने प्रवृत्ति देखाउन नहुने राईले बताए। उनका अनुसार जनमत नागरिकको हितमा काम गर्नका लागि प्राप्त हुने भएकाले त्यसलाई दबाब वा धम्कीका रूपमा प्रयोग गर्न नहुने धारणा राखे।
भदौ २३ र २४ गते भएका घटनासँगै मानव अधिकार उल्लङ्घन र कारागारबाट कैदीबन्दी फरार भएको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने पनि उनले बताए। उच्चस्तरीय संसदीय समिति गठनमा भइरहेको ढिलाइप्रति प्रश्न गर्दै राईले संसद्को निगरानीबाट सरकार पन्छिन नहुने धारणा राखे। राजनीतिलाई आलोचना गर्नेहरू नै अहिले राजनीति सिकाउन खोजिरहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति व्यङ्ग्यसमेत गरे। राजनीति सामाजिक सञ्जालमा लेखिने स्ट्याटसमा मात्र सीमित नभई नागरिकको पीडा बुझ्ने र संसद्को मर्यादा कायम गर्ने विषय भएको उनको भनाइ थियो।
राजविराजकी बबिता पासवानको उपचार अभावमा मृत्यु भएको घटनालाई पनि राईले संसद्मा उठाए। सार्वजनिक सेवाको अवस्थामाथि प्रश्न गर्दै उनले प्रधानमन्त्रीले पैसा अभावमा कसैले उपचारबाट वञ्चित हुन नपर्ने बताएको सन्दर्भमा उक्त घटनाले सरकारको भनाइ र व्यवहारबीच प्रश्न उठाएको बताए। राईले सरकारलाई अहङ्कार त्यागेर संवादमार्फत अघि बढ्न, धम्कीभन्दा जिम्मेवार व्यवहार देखाउन र प्रचारभन्दा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा ध्यान दिन आग्रह गरे।