काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई पक्षबीच पछिल्लो विपद्, जलवायुजन्य जोखिम तथा नेपाललाई आवश्यक सहयोगका विषयमा छलफल भएको जनाइएको छ।भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन अवस्थामा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद दिएका थिए। उनले बाढी तथा अन्य विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण र जलवायुजन्य घटनाबाट हुने क्षति कम गर्न विश्वव्यापी रूपमा सहकार्य र सामूहिक प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।यस्तै, नेपालमा पर्यटन क्षेत्रको सम्भावना र यसको विकासबाट दुवै देशले लाभ लिन सक्ने विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री शाहले नेपालमा अमेरिकी लगानीका लागि आफूहरू सकारात्मक रहेको बताएका थिए।
भेटमा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरिन्।उनले विपद्को यस कठिन समयमा अमेरिकी सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।यसअघि बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा पनि भोटेकोशी बाढीपछि राहत, पुनःस्थापना र पुनर्निर्माणमा अमेरिकी सहयोग जारी राख्ने बताएकी थिइन्।