काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्ने प्रक्रिया तीव्र बनाएको छ।
परराष्ट्र मन्त्रालयले असोजको पहिलो साताभित्र राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जानुअघि नै केही महत्त्वपूर्ण देशमा राजदूत नियुक्ति गर्ने सरकारको तयारी छ। परराष्ट्र मन्त्रालयले गत जेठ १४ गते १३ देशका लागि राजदूत माग गर्दै आवेदन खुलाएको थियो। त्यस क्रममा करिब ४ हजार ७ सय जनाले आवेदन दिएका थिए। मन्त्रालयले आवेदन छानबिन गरी करिब २ हजार ७ सय जनाको सूची तयार पारेको थियो। उक्त सूचीबाट उपयुक्त उम्मेदवार छनोटका लागि प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत नाम पठाइएको थियो। उनीहरूको अध्ययनपछि सूची परराष्ट्रमन्त्री शिशिर खनालकहाँ पुगेको र अहिले मन्त्रालयले अन्तिम तयारी गरिरहेको बताइएको छ।
अमेरिका, चीन, भारत, जापान, मलेसिया, साउदी अरेबिया र रुसलगायत महत्त्वपूर्ण देशमा छिट्टै राजदूत पठाउने तयारी सरकारको छ। सबै देशमा एकैपटक नियुक्ति गर्न नसकिए दुई वा तीन चरणमा नियुक्ति गर्ने तयारी गरिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पनि राजदूत नियुक्तिको प्रक्रिया अघि बढिरहेको र छिट्टै टुंगोमा पुग्ने बताएका छन्। हाल अमेरिका, चीन, भारत, अस्ट्रेलिया, जर्मनी, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, बेलायत, कतार, रुस, साउदी अरेबिया, श्रीलङ्का र स्पेनलगायत देशमा नेपाली राजदूत छैनन्। राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाअनुसार ५० प्रतिशत परराष्ट्र सेवाका कर्मचारी र ५० प्रतिशत प्रबुद्ध व्यक्तिबाट राजदूत नियुक्त गर्ने व्यवस्था छ। मन्त्रालयले पनि उम्मेदवारको क्षमता, योग्यता र सम्बन्धित देशसँगको जिम्मेवारी निर्वाह गर्न सक्ने आधार हेरेर नाम सिफारिस गरिने जनाएको छ। देश तोकेर आवेदन दिएका उम्मेदवारलाई सोही देशमा पठाइने भने निश्चित नभएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।