काठमाडौं ।काठमाडौँको माइतीघर मण्डलामा लामो समयदेखि जारी धर्नाका कारण प्रभावित हुँदै आएको थापाथलीतर्फ जाने सडक सञ्चालनमा आएको छ ।
बुधबार बिहान प्रहरीले आन्दोलनकारीले सडकमा राखेका टेन्ट हटाएपछि सडक खुला भएको हो ।सडकमा टेन्ट राखेर रातिसमेत धर्ना जारी रहँदा सुरक्षा चुनौती बढ्न सक्ने तथा धर्नामा सहभागीहरूको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीको भनाइ छ ।प्रहरीका अनुसार आन्दोलनकारीले दिउँसोको समयमा प्रदर्शन तथा धर्ना गर्न पाउनेछन् । तर रातको समयमा भने माइतीघर क्षेत्रमा बसेर धर्ना नगर्न प्रहरीले आग्रह गरेको छ । यसका लागि प्रहरीले माइकिङमार्फत समेत जानकारी गराएको थियो ।माइतीघरको भित्री सडकमा लामो समयदेखि दिनरात आन्दोलनकारीको उपस्थिति रहँदा यातायात आवागमन प्रभावित हुँदै आएको थियो । टेन्ट हटाइएसँगै उक्त सडकखण्डमा आवागमन पुनः सहज भएको प्रहरीले जनाएको छ ।