काठमाडौँ । सिरहामा प्रहरीले एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद गरेको छ। प्रहरीले ज १ च १२१३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको एम्बुलेन्समा गाँजा ल्याइँदै गरेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक सुनिल चौरसियाको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरीले एम्बुलेन्सलाई निगरानीमा राख्दै चोहर्वादेखि सिरहासम्म विभिन्न तीन स्थानमा ब्यारिकेट राखेर रोक्ने प्रयास गरेको थियो। तर, चालकले प्रहरीको ब्यारिकेट तोड्दै एम्बुलेन्स लिएर भागेका थिए।
प्रहरीले पछ्याउने क्रममा सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकमा चालकले एम्बुलेन्स छाडेर फरार भएको जनाएको छ। त्यसपछि एम्बुलेन्स खानतलासी गर्दा पाँचवटा बोराभित्र लुकाएर राखिएको अवस्थामा १०५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। सिरहाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकका अनुसार बरामद गाँजासहित एम्बुलेन्स जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र फरार चालकको पहिचान तथा खोजी जारी रहेको प्रहरीले जनाएको छ।