काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने सम्भावना छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका केही तराई भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।
रातिको समयमा पनि देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा वर्षा वा हिमपात हुनसक्ने सम्भावना छ। विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा अन्य मौसमजन्य जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत सम्बन्धित निकायले आग्रह गरेको छ।