सर्लाही । जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ। गोडैता नगरपालिका र बरहथवा नगरपालिकामा भएका घटनामा उनीहरूको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गोडैता नगरपालिका–५, रामवनस्थित भित्री सडकमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा ६५ वर्षीया शान्ति देवीको मृत्यु भएको हो। प्रदेश २–०३००१७ प ७१३५ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी देवीलाई उपचारका लागि वीरगन्जस्थित वयोधा अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
त्यस्तै, बरहथवा नगरपालिका–३, सानो खुरखोटीमा घरको भरेङबाट लड्दा ४० वर्षीया सुनिता माझीको मृत्यु भएको छ। भरेङ चढ्ने क्रममा लडेर गम्भीर घाइते भएकी माझीलाई उपचारका लागि बारास्थित न्यूरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।