काठमाडौं ।कर्णाली प्रदेश प्रहरी अस्पताल, वीरेन्द्रनगरले प्रहरी कर्मचारी तथा थुनुवा–बन्दीलाई लक्षित गर्दै सुर्खेतका विभिन्न प्रहरी युनिटमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ।
अस्पतालले सञ्चालन गर्दै आएको ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रमअन्तर्गत भदौ ३० गते स्वास्थ्यकर्मीको टोलीले दुईवटा प्रहरी युनिटमा पुगेर स्वास्थ्य सेवा दिएको हो।कार्यक्रममा नेपाल प्रहरी विशेष सुरक्षा गण बेश क्याम्प गुमीमा कार्यरत एक सय २६ जना प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसैगरी, इलाका प्रहरी कार्यालय छिन्चु तथा मातहतमा कार्यरत ६६ जना प्रहरी कर्मचारी र कार्यालयमा रहेका सात जना थुनुवा–बन्दीको पनि स्वास्थ्य जाँच गरिएको अस्पतालले जनाएको छ।
अस्पताल प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डा. अमितकुमार ठाकुरको नेतृत्वमा आठ जना स्वास्थ्यकर्मीको टोली स्वास्थ्य परीक्षणका लागि खटिएको थियो।स्वास्थ्य परीक्षणका क्रममा आवश्यकताअनुसार निःशुल्क औषधि वितरण गरिएको थियो। टोलीले सामान्य ल्याब परीक्षणसँगै प्रहरी कर्मचारीहरूको बीएमआई बडी मास इन्डेक्स समेत जाँच गरेको थियो।कार्यक्रममा स्वास्थ्य परीक्षणका साथै स्वस्थ जीवनशैलीसम्बन्धी सचेतनामूलक गतिविधि पनि सञ्चालन गरिएको थियो। डा. अमितकुमार ठाकुर र प्राविधिक प्रहरी निरीक्षक डा. सञ्जीव खड्काले स्वस्थ जीवनयापन, प्राथमिक उपचार तथा मादक पदार्थ र सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा पार्ने असरबारे परामर्श दिएका थिए।
प्रहरी कर्मचारीहरू कार्यक्षेत्रमै रहँदा स्वास्थ्य समस्या देखिए तत्काल परामर्श तथा उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अस्पतालले जनाएको छ। साथै, प्रहरी कर्मचारी तथा थुनुवा–बन्दीको स्वास्थ्य अवस्थाबारे आवश्यक जानकारी संकलन गर्दै स्वास्थ्य सचेतना बढाउने कामसमेत गरिएको थियो।कर्णाली प्रदेश प्रहरी अस्पतालले प्रहरी कर्मचारीलाई कार्यस्थलमै स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउने उद्देश्यले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


.jpeg)
.jpeg)

.jpeg)
.jpeg)
.jpeg)