काठमाडौं ।इलाम सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मेची राजमार्गको राजदुवाली खण्ड दुई दिन पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय इलामका अनुसार उक्त सडक खण्ड असोज ६ र ७ गते बन्द रहनेछ।यसअघि असोज ३ र ४ गते सडक बन्द गरेर निर्माणको काम अघि बढाउने निर्णय गरिएको थियो। तर ती दिन लोक सेवा आयोगको परीक्षा समेत रहेकाले सरोकारवालाको आग्रहपछि सडक बन्द गर्ने मिति परिवर्तन गरिएको प्रशासनले जनाएको छ।
राजदुवाली क्षेत्रमा पहिरो नियन्त्रण तथा सडक सुरक्षासम्बन्धी निर्माण कार्य भइरहेको छ। ड्रेनेज वेल र कलभर्ट निर्माणका क्रममा ठूला मेसिन तथा उपकरण सञ्चालन गर्नुपर्ने भएकाले सम्भावित दुर्घटना रोक्न र कामलाई सहज रूपमा अघि बढाउन सडक पूर्ण रूपमा बन्द गर्न लागिएको हो।सडक बन्द भएको समयमा ठूला सार्वजनिक सवारी साधनलाई मेची करिडोर हुँदै आवतजावत गर्न प्रशासनले आग्रह गरेको छ। त्यस्तै, साना सवारी साधनले सिमलगोलाइ–तिल्केनी सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्ने जनाइएको छ।निर्माण कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न यात्रु तथा सवारी चालकलाई प्रशासनले तोकिएको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
