काठमाडौँ ।भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किसानहरू व्यावसायिक सुन्तलाखेतीतर्फ आकर्षित हुन थालेका छन्।
परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी हुन नसकेपछि स्थानीय कृषकले सुन्तलालाई नियमित आम्दानीको भरपर्दो विकल्पका रूपमा लिन थालेका हुन्।पहिले घरायसी उपभोगका लागि मात्र सुन्तलाका बिरुवा लगाउने गरेका किसानले पछिल्लो समय खाली तथा कम प्रयोग भएका जमिनमा बगैँचा विस्तार गरिरहेका छन्। यससँगै खावा क्षेत्रमा सुन्तलाखेती क्रमशः व्यावसायिक बन्दै गएको छ।कृषक चण्डालकुमार राईका अनुसार सुन्तलाखेतीबाट अन्य बालीको तुलनामा राम्रो आम्दानी गर्न सकिन्छ। सुन्तलासँगै बिरुवा उत्पादन गरेर बिक्री गर्दा अतिरिक्त आम्दानीसमेत हुने गरेको उनले बताए। यसबाट दैनिक घरायसी खर्च व्यवस्थापन गर्न र केही रकम बचत गर्न सहयोग पुगेको उनको भनाइ छ।
खावा केराबारीको हावापानी, माटो र भौगोलिक उचाइ सुन्तला उत्पादनका लागि उपयुक्त रहेको स्थानीय किसान देउराम राईले बताए। यहाँ उत्पादित सुन्तलाको स्वाद र गुणस्तर राम्रो भएकाले बजारमा मागसमेत रहेको उनको भनाइ छ।उनका अनुसार खेतीलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सके खावा क्षेत्रलाई भोजपुरकै प्रमुख सुन्तला उत्पादन क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ।वडाध्यक्ष सुनिल राईले किसानको आयआर्जन बढाउने उद्देश्यले वडाले सुन्तलाखेती प्रवर्द्धनमा जोड दिएको बताए। उनका अनुसार कृषकलाई आवश्यक प्राविधिक परामर्शसँगै गुणस्तरीय सुन्तलाका बिरुवा उपलब्ध गराउने काम भइरहेको छ।
वडाले कृषि प्राविधिकमार्फत बगैँचा व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, मलखादको उचित प्रयोग र आधुनिक खेती प्रणालीबारे किसानलाई सहजीकरण गर्दै आएको जनाएको छ।सुन्तलाखेती विस्तारसँगै उत्पादन बढाउने र खावा क्षेत्रलाई सुन्तला उत्पादनको सम्भावित ‘हब’ का रूपमा विकास गर्ने लक्ष्य वडाले अघि सारेको छ।