काठमाडौं । नेवार समुदायले आफ्नो मौलिक सांस्कृतिक पर्वका रूपमा चथा पर्व मनाइरहेका छन्।
सोमबार विशेष धार्मिक विधिअनुसार भगवान् गणेशको पूजा तथा आराधना गरी यो पर्व मनाउने गरिन्छ।चथा पर्वका अवसरमा घर, आँगन, कौसी तथा पूजा गर्ने स्थान सफा गरेर परिवारका सदस्यहरू एकै ठाउँमा भेला हुने परम्परा छ। त्यसपछि भगवान् गणेशको विधिपूर्वक पूजा गरी विभिन्न फलफूल, तरकारी, अन्न तथा गेडागुडी प्रसादका रूपमा चढाइन्छ।
पूजामा अदुवाको बोटसँगै स्याउ, मौसम, अम्बा, काक्रो, मुला, मकै, भटमास, चना, गहुँ, केराउ, बकुला तथा विभिन्न बीउलगायत कृषि उपज प्रयोग गर्ने चलन छ। घरमा उपलब्ध नयाँ कृषि उत्पादन र फलफूललाई पूजा सामग्रीका रूपमा चढाउने परम्परा रहेको छ।चथा पर्वमा प्रयोग हुने कृषि उपज र फलफूलले प्रकृति, कृषि र मानव जीवनबीचको सम्बन्धलाई प्रतिनिधित्व गर्ने धार्मिक तथा सांस्कृतिक विश्वास छ। वर्षभरि प्राप्त प्राकृतिक तथा कृषि उत्पादनप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले पनि यो पर्व मनाउने गरिन्छ।
यस पर्वसँग चन्द्रमासम्बन्धी धार्मिक विश्वाससमेत जोडिएको छ। चथा पर्वका दिन चन्द्रमा हेर्न नहुने परम्परागत मान्यता नेवार समुदायमा पाइन्छ। चन्द्रमा हेरेमा झुटो आरोप वा अपवाद लाग्न सक्ने विश्वासका कारण पूजा गर्ने क्रममा आकाशतर्फ नहेर्ने चलनसमेत रहेको छ।