काठमाडौं । काठमाडौंमा आयोजना गरिएको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’ यस वर्ष सामाजिक सेवासँग जोडिएको छ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।चाडपर्व पनि मनाऔँ, बाढीपीडितलाई पनि सहयोग गरौँ’ भन्ने सन्देशसहित शनिबार आयोजित कार्यक्रममा सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिका साथै ब्राइडल मेकअप प्रतियोगिता पनि सञ्चालन गरिएको थियो।कार्यक्रमबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।
फेसियल हाउसकी संस्थापक तथा प्रबन्ध निर्देशक सुष्मा महराले चाडपर्व र संस्कृतिको संरक्षणसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले यसपटकको कार्यक्रमलाई सामाजिक अभियानसँग जोडिएको बताइन्।
कार्यक्रमअन्तर्गत भएको ब्राइडल मेकअप प्रतियोगितामा २५ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। प्रतियोगितामा विभिन्न सात विधामा उत्कृष्ट हुनेलाई सम्मान तथा क्राउन प्रदान गरिएको थियो।प्रतियोगितामा सुनिता राईले विजेताको उपाधि हासिल गरिन्। अस्लिना गुरुङ फर्स्ट रनरअप र उर्मिला तामाङ सेकेन्ड रनरअप घोषित भए।त्यस्तै जुनु श्रेष्ठले बेस्ट पर्फमर, मुना राईले बेस्ट र्याम्प वाक, सुनिता लामाले बेस्ट ट्रेडिसनल अटायर प्रेजेन्टेसन तथा सरु गुरुङले स्टाइल आइकन अफ द इभेन्टको उपाधि प्राप्त गरिन्।
ब्राइडल मेकअप प्रतियोगितासँगै कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।फेसियल हाउसले आफ्नो स्थापनादेखि नै हरेक वर्ष विभिन्न सांस्कृतिक गतिविधि आयोजना गर्दै आएको छ। यस वर्ष भने सांस्कृतिक उत्सवलाई विपद् प्रभावित नागरिकको सहयोगसँग जोडेर कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको समेत सहभागिता रहेको थियो।