काठमाडौँ। बझाङमा जंगली च्याउ टिप्न भन्दै जंगलतर्फ गएका एक युवक ६ दिनदेखि बेपत्ता भएका छन्।
खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्काको अवस्था अझै अज्ञात रहेको परिवारले जनाएको छ। खड्का गत २३ भदौ बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका थिए। साँझसम्म घर फर्किने बताएका उनी त्यसपछि सम्पर्कविहीन भएका हुन्। खड्का घर नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले सम्भावित क्षेत्रमा खोजी सुरु गरेका छन्। डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकाले खोजीमा कठिनाइ भइरहेको परिवारको भनाइ छ।
बेपत्ता भएको ६ दिन बितिसक्दा पनि कुनै जानकारी नआएपछि परिवार थप चिन्तित बनेको छ। उक्त क्षेत्रमा मोबाइल नेटवर्कसमेत नहुँदा खोजी र आपसी समन्वयमा समस्या भइरहेको खड्काका काका फिट्टु खड्काले बताएका छन्। परिवारले जितेन्द्रको खोजीलाई तीव्र बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ। सम्भावित सबै क्षेत्रमा जनशक्ति परिचालन गर्नुका साथै आवश्यक प्रविधिको प्रयोग गरेर खोजी गर्न परिवारले अनुरोध गरेको छ।युवकको अवस्थाबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन परिवारले स्थानीयवासी तथा सरोकारवालासँग अपिल गरेको छ।