काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौँ सहरको स्वरूपमा सकारात्मक परिवर्तन देखिन थालेको बताएका छन्।
लामो समयदेखि अव्यवस्थित बन्दै गएको राजधानीलाई सफा, सुन्दर र व्यवस्थित बनाउनेतर्फ भइरहेका प्रयासले आफूलाई आशावादी बनाएको उनले बताएका हुन्।आइतबार काठमाडौँ महानगर नगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आचार्यले महानगरपालिकाले पछिल्लो समय थालेका सुधारका कामको प्रशंसा गरे।उनका अनुसार काठमाडौँ उपत्यकामा समस्या एकैपटक सिर्जना भएको होइन। करिब पाँच दशकदेखि बढ्दै गएको अव्यवस्थाले सहरको अवस्था बिगारे पनि पछिल्लो समय सुधारका लागि भइरहेका पहलले सकारात्मक सन्देश दिएको उनको भनाइ छ।आचार्यले काठमाडौँलाई व्यवस्थित र आकर्षक सहरका रूपमा विकास गर्न थालिएका कामलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिए। उनले महानगरका पछिल्ला प्रयासले राजधानीको भविष्यप्रति नयाँ आशा जगाएको बताए।