काठमाडौं । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्यायपालिकालाई प्रभावकारी बनाउन न्यायाधीश, अदालतका कर्मचारी र कानुन व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित उच्च अदालत बार एशोसिएशन पाटनको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले न्यायपालिकाको उद्देश्य पूरा गर्न बार र बेन्चबीच सहकार्य तथा समन्वय महत्वपूर्ण हुने धारणा राखे।बार र बेन्चबीच कुनै विषयमा फरक बुझाइ देखिए त्यसलाई विवादको रूपमा अघि बढाउनुको सट्टा संवाद र छलफलबाट समाधान खोज्नुपर्ने उनको भनाइ थियो। यसबाट नागरिकको न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने उनले बताए।
प्रधानन्यायाधीश शर्माले न्याय प्राप्त गर्नु नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिका, विधिको शासन र शक्ति पृथकीकरणलाई सभ्य समाज तथा नागरिक अधिकार संरक्षणका महत्वपूर्ण आधारका रूपमा व्याख्या गरे।अदालतका कामकारबाहीप्रति गरिने स्वच्छ र रचनात्मक आलोचना तथा कार्यसम्पादनको समीक्षा आवश्यक रहेको उनले बताए। तर व्यक्तिगत स्वार्थ वा पूर्वाग्रहका आधारमा गरिने आलोचनाले न्याय क्षेत्रप्रतिको मर्यादा र जनविश्वासमा असर पार्न सक्ने भएकाले यसतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ थियो।
न्यायिक सेवा थप पारदर्शी र सेवाग्राहीमैत्री बनाउन प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिइएको शर्माले जानकारी दिए। उनका अनुसार अदालतका आदेशहरू सोही दिन वेबसाइटमा राख्ने प्रक्रिया सुरु भइसकेको छ।त्यस्तै, आगामी दिनमा सर्वोच्च अदालत वा कुनै पनि जिल्ला अदालतबाट भएका फैसला देशका अन्य जिल्ला अदालतबाट समेत सहज रूपमा प्राप्त गर्न सकिने व्यवस्था कार्यान्वयन गर्ने तयारी भइरहेको उनले बताए।