काठमाडौँ । जाजरकोटमा लागुऔषध सेवन गरिरहेको अवस्थामा एक जिप चालक पक्राउ परेका छन्।
सुर्खेत–जाजरकोट सीमा क्षेत्रमा पर्ने शिवालय गाउँपालिका–१ छेडा बजारस्थित नवराज एण्ड नितिसा स्टाफ होटलबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ राडी बजारका २४ वर्षीय ससीराम परियार पक्राउ परेका हुन्। प्रहरीका अनुसार परियार शनिबार बाँकेको नेपालगन्जबाट डोल्पातर्फ जाँदै गरेको लु.प्र.०१००१ च १७४० नम्बरको जिप चलाइरहेका थिए।
जिपका यात्रुहरू होटलमा खाना खाइरहेका बेला चालक परियार लामो समयसम्म कोठाबाट बाहिर ननिस्किएपछि प्रहरीलाई शंका लागेको थियो। त्यसपछि प्रहरी चौकी छेडाका हवल्दार दुर्गा सुनारको नेतृत्वमा खटिएको टोलीले उनको कोठामा खोजतलास गरेको थियो। खोजतलासका क्रममा परियारलाई लागुऔषध सेवन गरिरहेको अवस्थामा फेला पारेपछि पक्राउ गरिएको प्रहरी चौकी छेडाका इन्चार्ज लालु सिंहले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।