काठमाडौँ । नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शुक्रबार भेटवार्ता गरेकी छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले हालैको भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन समयमा अमेरिका नेपालसँगै रहेको बताइन्। उनले बाढीपछि जारी राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका काममा नेपाललाई आवश्यक सहयोग र समर्थन उपलब्ध गराउन अमेरिकी सरकार तयार रहेको बताएकी छन्। विपद्का कारण उत्पन्न परिस्थितिमा नेपाललाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्। भेटमा परराष्ट्रमन्त्री खनालले विपद्को समयमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोग उपलब्ध गराएकोमा अमेरिकी सरकार र अमेरिकी नागरिकप्रति धन्यवाद व्यक्त गरे।
यसैबीच, अमेरिकी दूतावासका अनुसार कार्यवाहक राजदूत बोल्डिनले बाढीपछि बेपत्ता अमेरिकी नागरिकसहित अन्य प्रभावित तथा पीडितको खोजी र उद्धारमा नेपाल सरकारले गरिरहेको प्रयासको प्रशंसा गरेकी छन्। अमेरिकाले उद्धार तथा राहतका काममा नेपालसँग समन्वय गर्दै सहयोग गरिरहेको जनाएको छ। अमेरिकी दूतावासले आफ्नो प्राथमिकता नेपालमा रहेका अमेरिकी नागरिकको सुरक्षा भए पनि नेपालको नेतृत्वमा सञ्चालन भइरहेको विपद् प्रतिकार्यमा समेत अमेरिकी सहयोगले योगदान पुर्याइरहेको जनाएको छ। अमेरिकाले बाढी प्रभावितका लागि खाद्यान्न, आकस्मिक राहत सामग्री, आवश्यक उपकरण तथा पुनर्लाभसँग सम्बन्धित सामग्रीसहित ४० लाख अमेरिकी डलरभन्दा बढी अर्थात् करिब ६१ करोड रुपैयाँ बराबरको मानवीय सहायता परिचालन गरिसकेको दूतावासले जनाएको छ। त्यसैगरी, बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको पहिचान र परिवारलाई आवश्यक जानकारी उपलब्ध गराउन नेपाल प्रहरीसँग सहकार्य गर्दै एफबीआईका फरेन्सिक विशेषज्ञहरूले समेत काम गरिरहेका छन्। नेपाल सरकारले बाढीबाट भएको क्षति, विस्थापन र प्रभावित समुदायको आवश्यकताको मूल्याङ्कन गरिरहेका बेला अमेरिकाले नेपालसँग निरन्तर समन्वय र सहकार्य गरिरहने दूतावासले जनाएको छ।