काठमाडौं ।परराष्ट्रमन्त्री शिशिर खनालले सीमापार हुने वन्यजन्तु अपराध नियन्त्रण गर्न दक्षिण एसियाली मुलुकका सम्बन्धित निकायबीच बलियो समन्वय र नियमित सूचना आदानप्रदान आवश्यक रहेको बताएका छन्।
दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको पहिलो महासभालाई सम्बोधन गर्दै मन्त्री खनालले वन्यजन्तु तथा जैविक विविधताको संरक्षणका लागि क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।उनले वन्यजन्तुको अवैध ओसारपसार र व्यापार दक्षिण एसियाको मात्र नभई अन्तर्राष्ट्रिय सुरक्षाका लागि समेत चुनौती बन्दै गएको बताए। यस्तो अपराध नियन्त्रण गर्न संरक्षणसँग सम्बन्धित सरकारी निकायबीच सहकार्य र सूचना साझेदारीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
दक्षिण एसियाली मुलुकहरू भौगोलिक, वातावरणीय र ऐतिहासिक रूपमा एकअर्कासँग जोडिएकाले वन्यजन्तु संरक्षणमा साझा प्रयास आवश्यक रहेको मन्त्री खनालले बताए।नेपालले क्षेत्रीय सहकार्यलाई निरन्तर प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले सञ्जाललाई सबै सदस्य राष्ट्रको साझा स्वामित्व र सहभागितामा थप मजबुत बनाउन दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको बताए।पहिलो महासभाले सञ्जालको संस्थागत विकासका लागि नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गर्दै मन्त्री खनालले यसबाट सदस्य राष्ट्रबीच आपसी विश्वास, मित्रता र साझेदारी अझ बलियो हुने अपेक्षा व्यक्त गरे।