काठमाडौं । अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय जोखिमयुक्त मुलुकको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले तीव्र रूपमा पहल गरिरहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज सेजन को २८औँ साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्नो पक्ष प्रभावकारी रूपमा राख्न विभिन्न तहबाट काम अघि बढाइरहेको जानकारी दिए।उनका अनुसार राष्ट्र बैंकका डेपुटी गभर्नर तथा महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्तासहित करिब पाँचदेखि छ जनाको टोली अहिले मलेसियामा रहेर आवश्यक काम गरिरहेको छ। साथै, फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफ सम्बन्धी विषयमा अमेरिकी अर्थमन्त्रीसँग समेत छलफल गर्ने प्रयास भइरहेको उनले बताए।नेपाल समयमै ग्रे लिस्टबाट बाहिरिन नसके अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रमा नेपालको विश्वसनीयतामा असर पर्न सक्ने सरकारको चिन्ता छ। यसले विदेशी लगानी, अन्तर्राष्ट्रिय बैंकिङ कारोबार तथा मुलुकमा पुँजी भित्रिने वातावरणमा समेत प्रभाव पार्न सक्ने भएकाले सरकारले विषयलाई प्राथमिकतामा राखेको अर्थमन्त्रीको भनाइ छ।
वाग्लेले ग्रे लिस्टबाट बाहिरिने प्रयासबारे गलत सूचना तथा अफवाह फैलाउने काम भइरहेको भन्दै जिम्मेवार रूपमा विषय उठाउन सञ्चार क्षेत्रलाई आग्रह गरे।यस्तै, प्राकृतिक विपद्बाट भएको क्षति र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय स्रोत जुटाउने काम पनि सरकारले अघि बढाइरहेको उनले बताए। पुनर्निर्माण गर्दा पुरानै संरचना दोहोर्याउनेभन्दा जलवायु परिवर्तनका जोखिम सामना गर्न सक्ने पूर्वाधार निर्माणमा जोड दिने सरकारको नीति रहेको उनको भनाइ छ।अर्थमन्त्री वाग्लेले आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत सुधारलाई प्राथमिकता दिएको पनि बताए।