काठमाडौँ ।जेन–जी आन्दोलनका क्रममा जिल्ला कारागार रुकुम पश्चिमको गेट तोडेर फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
अदालतको आदेशअनुसार जबर्जस्ती करणी मुद्दामा बाह्र वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र पचास हजार रुपैयाँ क्षतिपूर्ति तोकिएका बाँफिकोट गाउँपालिका–२ का २६ वर्षीय दुर्गालाल परियार कारागारबाट फरार भएका थिए।प्रहरीका अनुसार जेन–जी आन्दोलनका क्रममा कारागारको गेट तोडिएपछि उनी फरार भएका थिए। फरार भएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो।प्रहरी टोलीले उनलाई भदौ २५ गते राति करिब नौ बजे आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ।पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखी आवश्यक कानुनी कारबाहीका लागि आज जिल्ला अदालत मुसिकोटमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जारी गरेको प्रेस नोटअनुसार पक्राउ परेका कैदीलाई अदालतको आदेशअनुसार थप कानुनी प्रक्रिया अघि बढाइएको छ।