काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुन सकेन।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवै पक्षका कानुन व्यवसायीबीच बहस हुने कार्यतालिका थियो। तर, नवनियुक्त प्रहरी महानिरीक्षक मनोजकुमार केसी अदालतमा उपस्थित नभएपछि सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको हो। केसीले अदालतको म्याद बुझिनसकेको बताइएको छ। यद्यपि, उनको पक्षका कानुन व्यवसायीले भने आफूहरूले म्याद प्राप्त नगरेको जिकिर गरेका थिए।केसीको अनुपस्थितिबारे इजलासले महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग समेत जानकारी मागेको थियो। त्यसपछि अदालतले आगामी सुनुवाइमा आईजीपी केसीलाई अनिवार्य उपस्थित गराउन र मुद्दालाई पहिलो नम्बरमै पेसी चढाउन आदेश दिएको छ।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। साथै, कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयको प्रमाणित प्रतिलिपिसहित आवश्यक कागजात पेस गर्न र सरकारलाई १५ दिनभित्र लिखित जवाफ बुझाउन निर्देशन दिएको थियो। मुद्दाको प्रकृति र संवेदनशीलतालाई ध्यानमा राख्दै सर्वोच्चले यसलाई अग्राधिकारसमेत दिएको थियो। कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेपछि कार्कीले उक्त निर्णय बदर गरी आफूलाई पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।