काठमाडौँ ।सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा पहिरो खसेर खोलामै ड्याम बनेपछि आसपासका नदी तटीय क्षेत्रमा जोखिम बढेको छ।
स्थानीय बासिन्दालाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।महाकुलुङ गाउँपालिका–२ र ४ को सीमाक्षेत्रमा पर्ने हुङ्गा खोलामा भदौ २६ गते बिहान पहिरो खसेको हो। प्रहरीका अनुसार महाकुलुङ–२ स्थित गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब एक सय मिटर तलबाट करिब ३५ मिटर अग्लो पहिरो खोलामा खसेपछि पानी थुनिएको थियो।पहिरोले खोलामा करिब एक सय मिटर लामो र १५ मिटर उचाइको अस्थायी ड्याम बनेको प्रहरीले जनाएको छ। घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सोताङ र सम्बन्धित प्रहरी चौकीबाट टोली घटनास्थलतर्फ पठाइएको थियो।
खोलामा पानी थुनिएपछि प्रहरीले आसपासका बस्ती तथा हुङ्गा खोलामा रहेका जलविद्युत् आयोजनालाई जोखिमबारे जानकारी गराएको छ। गौरीशंकर हाइड्रोपावर, दूधकोशी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडअन्तर्गतका दुई आयोजनामा रहेका कामदार र सवारीसाधनलाई सुरक्षित स्थानमा जान भनिएको छ।हुङ्गा खोलाको पानी महाकुलुङ–२ को बोदेल क्षेत्रमा थुनिएपछि सोताङ, थुलुङ दूधकोशी र नेचासल्यान हुँदै दूधकोशी नदीमा पुग्ने गर्दछ। दूधकोशी नदी त्यसपछि खोटाङ र ओखलढुंगातर्फ बग्ने भएकाले तल्लो तटीय क्षेत्रमा समेत सावधानी अपनाउन भनिएको हो।प्रहरीका अनुसार बिहान करिब ९ बजेर १० मिनेटमा ड्यामले बनाएको ताल भरिएपछि पानी बाहिर निस्कन थालेको छ। अहिले घटनास्थलको अवस्था र सम्भावित जोखिमबारे थप अध्ययन भइरहेको छ।