काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अंकिता ठाकुरले आर्थिक अभावका कारण सुत्केरी महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनु गम्भीर विषय भएको बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै ठाकुरले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको भनिएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्।उनका अनुसार राजविराज नगरपालिका–१४ की बबिताकुमारी पासवान प्रसव पीडामा अस्पताल पुगेकी थिइन्। तर, आवश्यक रकम तत्काल उपलब्ध हुन नसकेपछि उनले अस्पतालबाहिरै शिशु जन्माउनुपरेको घटना सार्वजनिक भएको ठाकुरले सदनमा बताइन्।ठाकुरले गरिब तथा विपन्न नागरिकका लागि स्वास्थ्य संस्था भरोसाको केन्द्र हुनुपर्नेमा आर्थिक अवस्थाकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था दुःखद भएको बताइन्।नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै उनले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरिन्।