काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीपछि सडक र बस्तीमा थुप्रिएको लेदो तथा गेग्रान हटाउन नेपाल निर्माण व्यवसायी महासंघले आवश्यक उपकरण परिचालन गरेको छ।
महासंघले नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सरसफाइ तथा सडक खुलाउने कामका लागि पाँच वटा टिपर र स्काभेटर सहयोग गरेको हो।महासंघका प्रवक्ता मंगलबहादुर शाहीका अनुसार विदुर, देवीघाट र गल्छी क्षेत्रमा थुप्रिएको लेदो हटाउन टिपरहरू परिचालन गरिएको छ। स्थानीय प्रशासनसँग समन्वय गरेर ती उपकरण १५ दिनसम्म बाढी प्रभावित क्षेत्रमा प्रयोग गरिने उनले बताए।बाढीका कारण सडक तथा बस्तीमा लेदो र गेग्रान थुप्रिँदा आवागमन तथा दैनिक जनजीवन प्रभावित भएको थियो। उपकरण परिचालनपछि सडक सफा गर्ने र प्रभावित क्षेत्रमा आवागमन सहज बनाउने काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।महासंघले विपद्का समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार, राहत तथा पूर्वाधार पुनःस्थापनाका काममा सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता सहयोगलाई निरन्तरता दिने महासंघको भनाइ छ।