काठमाडौं ।विश्वव्यापी तापक्रम निरन्तर बढिरहेका बेला सन् २०२६ को अगस्ट महिना पृथ्वीको सबैभन्दा तातो महिनामध्ये एक बनेको छ।
युरोपेली जलवायु सेवा कोपरनिकसका अनुसार अगस्टमा विश्वको औसत सतही तापक्रम १६ दशमलव ९६ डिग्री सेल्सियस पुगेको थियो।यो सन् २०२३ को जुलाईमा रेकर्ड भएको उच्च तापक्रमभन्दा करिब शून्य दशमलव शून्य १ डिग्री बढी हो। तापक्रम मापनको सामान्य अनिश्चिततालाई हेर्दा वैज्ञानिकहरूले दुवै महिनालाई व्यवहारतः अत्यधिक तातो अवधिका रूपमा हेरेका छन्।कोपरनिकसका अनुसार अगस्टको तापक्रम औद्योगिक युग सुरु हुनुअघिको औसतभन्दा १ दशमलव ६५ डिग्री सेल्सियस माथि पुगेको छ। पछिल्ला केही वर्षमा रेकर्ड भएका अत्यधिक तातो महिनाले पृथ्वीको तापक्रम वृद्धि तीव्र बन्दै गएको संकेत गरेको वैज्ञानिकहरूको भनाइ छ।अत्यधिक गर्मीको असर समुद्रमा पनि देखिएको छ। अगस्टमा समुद्रको औसत तापक्रम निकै उच्च रह्यो भने अगस्ट २२ समुद्री सतहको तापक्रम मापन इतिहासकै सबैभन्दा तातो दिन बनेको जनाइएको छ।
वैज्ञानिकहरूका अनुसार बढ्दो तापक्रमका कारण गर्मीको लहर, भारी वर्षा, बाढी, डढेलो र शक्तिशाली आँधी जस्ता चरम मौसमी घटना अझ तीव्र र बारम्बार हुन सक्छन्।यसपटकको तापक्रम वृद्धिमा एल निनोको केही प्रभाव भए पनि मुख्य कारण भने मानवीय गतिविधिबाट उत्सर्जन भइरहेको हरितगृह ग्यास रहेको वैज्ञानिकहरूको निष्कर्ष छ। कोइला, तेल र प्राकृतिक ग्यासको निरन्तर प्रयोगले पृथ्वीको तापक्रम बढाइरहेको उनीहरूको भनाइ छ।वैज्ञानिकहरूले आगामी वर्षमा पनि तापक्रम उच्च रहने सम्भावना औँल्याएका छन्। सन् २०२६ अहिलेसम्मकै तातो वर्ष बन्न सक्ने र त्यसपछिको वर्षले पनि नयाँ रेकर्ड बनाउन सक्ने अनुमान गरिएको छ।जलवायु परिवर्तनको गति रोक्न जीवाश्म इन्धनको प्रयोग घटाउन नसके गर्मी, बाढी, डढेलो तथा अन्य चरम मौसमका कारण मानव स्वास्थ्य, खाद्य सुरक्षा र पूर्वाधारमा थप गम्भीर असर पर्न सक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्।