काठमाडौँ। रसुवाको नौकुण्ड गाउँपालिका–५, भोर्ले बजारनजिकै पहिरो खसेपछि अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ।
बुधबार साँझ करिब ५ बजे रसुवा भोर्ले बागेश्वरी मन्दिर आसपासको जिरो–भोर्ले–पार्च्याङ सडकखण्डमा पहिरो खसेको थियो। पहिरोका कारण करिब १७ घण्टासम्म सडकमा सवारीसाधन रोकिएका थिए।बिहीबार बिहान सडकको दुवैतर्फबाट डोजर परिचालन गरी पहिरो हटाएपछि यातायात पुनः सञ्चालन भएको हो। सडक खुलेसँगै रोकिएका यात्रुवाहक तथा अन्य सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।बाढीका कारण बेत्रावती–स्याफ्रुवेंशी–धुन्चे जोड्ने मुख्य सडक अवरुद्ध भएपछि अहिले यो मार्ग रसुवा आवतजावत गर्नेका लागि वैकल्पिक सडकका रूपमा प्रयोग भइरहेको छ। पहिरोले काठमाडौं, नुवाकोट हुँदै धुन्चे जाने यात्रुसँगै राहत सामग्री बोकेका सवारीसाधनसमेत प्रभावित भएका थिए।