काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि धादिङ सदरमुकाम र राजधानीबीचको सडक सम्पर्क प्रभावित भएको लामो समय बित्दा पनि सरकारले प्रभावकारी पहल नगरेको भन्दै आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फुर्के खोलाको पक्की पुल बाढीले बगाएपछि धादिङको यातायात तथा आपूर्ति व्यवस्था प्रभावित भएको बताइन्। बाढी गएको १५ दिन बितिसक्दा पनि वैकल्पिक यातायात व्यवस्था मिलाउन सरकारबाट पर्याप्त काम नभएको उनको गुनासो छ।पुल सञ्चालनमा नहुँदा खाद्यान्न, औषधि र इन्धनजस्ता अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित भएको र सर्वसाधारणको दैनिक जीवन थप कठिन बनेको उनले बताइन्। समस्या समाधानका लागि तत्काल अस्थायी बेलिब्रिज निर्माण गरेर सडक सम्पर्क पुनःस्थापित गर्न उनले सरकारसँग माग गरिन्।थपलियाले विपद्का बेला सामाजिक सञ्जालमा पीडितको संवेदनामाथि गरिने उपहासप्रति समेत आपत्ति जनाइन्। आफन्त बेपत्ता भएपछि खोजीका लागि गरिएको आग्रहलाई समेत मजाक बनाउने प्रवृत्ति अमानवीय भएको उनको भनाइ छ।उनले बजारमा देखिएको ग्यास अभावप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्। ग्यास लिन नागरिक घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था आएको भन्दै उनले इन्धनको सहज आपूर्ति सुनिश्चित गर्न सरकार तत्काल सक्रिय हुनुपर्ने बताइन्।सांसद थपलियाले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना, सडक सम्पर्क र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गरेकी छन्।