काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा नयाँ ‘जेनजी चोक’ स्थापना गरिएको छ।
घण्टाघरको उत्तरतर्फ रहेको गोलाकार चोकलाई बुधबारदेखि औपचारिक रूपमा जेनजी चोकका रूपमा नामकरण गरिएको हो।आन्दोलनका क्रममा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहोरा लगायत युवाहरूको सहभागितामा चोकको नामकरण गरिएको जनाइएको छ।द काउन्सिल अफ जेनजीका कर्णाली संयोजक प्रकाश खड्काका अनुसार चोकको नाम परिवर्तन गर्नु सामान्य औपचारिकता नभई आन्दोलनमा ज्यान गुमाएका, घाइते भएका तथा परिवर्तनका लागि सडकमा उत्रिएका युवाहरूको संघर्ष र बलिदानलाई सम्झिरहने प्रतीकात्मक प्रयास हो।उनले कर्णालीमा लामो समयदेखि रहेका विभेद, अन्याय र सामाजिक समस्याविरुद्ध आवाज उठाउने साझा स्थलका रूपमा चोकलाई विकास गर्ने उद्देश्य रहेको बताए।खड्काका अनुसार ‘जेनजी चोक’ लाई आगामी दिनमा कर्णालीका नागरिकका अधिकार, न्याय र परिवर्तनको आवाज उठाउने सार्वजनिक थलोका रूपमा स्थापित गर्ने योजना छ। काठमाडौंको माइतीघरजस्तै कर्णालीका मुद्दा र जनसरोकारका विषयमा छलफल तथा खबरदारी गर्ने केन्द्र बनाउने उद्देश्य रहेको उनको भनाइ छ।