काठमाडौं । जुनसुकै कम्पनीको ग्यास सिलिन्डर भए पनि खाली सिलिन्डर साटेर ग्यास उपलब्ध गराउने सरकारको निर्देशन तत्काल लागू गर्न व्यावहारिक समस्या रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट मौखिक निर्देशन आए पनि त्यसलाई कार्यान्वयन गर्न नेपाल आयल निगम र मन्त्रालयबाट औपचारिक निर्णय तथा स्पष्ट कार्यविधि आवश्यक पर्ने साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले बताएका छन्।उनका अनुसार देशभरको एलपी ग्यास बजारमा साल्ट ट्रेडिङको हिस्सा निकै कम छ। कम्पनीले आफ्नो सीमित उत्पादन क्षमताबाटै अन्य कम्पनीका सिलिन्डरसमेत साटेर ग्यास उपलब्ध गराउनुपर्ने अवस्था आए आपूर्ति व्यवस्थापनमा समस्या हुन सक्ने उनको भनाइ छ।राजभण्डारीका अनुसार अहिले बजारमा साल्ट ट्रेडिङको हिस्सा करिब दुईदेखि साढे तीन प्रतिशत मात्रै छ। बाँकी अधिकांश माग निजी ग्यास उद्योगहरूले पूरा गरिरहेका छन्।उनले सबै कम्पनीका सिलिन्डर साट्ने व्यवस्था एकैपटक लागू गर्दा साल्ट ट्रेडिङमाथि मागको ठूलो चाप पर्न सक्ने बताए। त्यसैले कुन अनुपातमा र कुन मोडालिटीबाट सिलिन्डर साट्ने भन्ने विषयमा स्पष्ट निर्णय आवश्यक रहेको उनको भनाइ छ।मन्त्रालय र नेपाल आयल निगमले कार्यान्वयनको स्पष्ट मोडालिटीसहित लिखित निर्णय पठाएपछि मात्रै प्रक्रिया अघि बढाउन सकिने साल्ट ट्रेडिङले जनाएको छ। त्यसका लागि सम्बन्धित निकायबीच थप छलफल आवश्यक रहेको पनि कर्पोरेसनको भनाइ छ।