काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही प्रदेशमा चट्याङसहित मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। यसको प्रभावका कारण देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा समेत वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज कोशी, मधेस र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा समेत केही स्थानमा वर्षा हुन सक्नेछ। यस्तै, तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।