काठमाडौं ।बाढीका कारण क्षतिग्रस्त पुलहरू पुनःनिर्माण गर्ने क्रममा नुवाकोटको देवीघाटमा निर्माण भइरहेको बेलीब्रिज भोलि साँझदेखि सञ्चालनमा आउने भएको छ।
पुल निर्माण तथा पुनर्स्थापना कार्यदलका संयोजक धर्मेन्द्र झाका अनुसार देवीघाटमा बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। काम पूरा भएपछि भोलि साँझदेखि उक्त पुलबाट सवारीसाधन आवतजावत गर्न सक्नेछन्।यस्तै, बेत्रावतीमा पनि बेलीब्रिज निर्माण गर्ने तयारी भइरहेको छ। तर बाढीका कारण सडक नै क्षतिग्रस्त भएकाले पुलका सामग्री पुर्याउन समस्या भइरहेको जनाइएको छ। सडक खुलेपछि केही दिनभित्र सामग्री बेत्रावती पुर्याएर करिब पाँच दिनमा पुल जडान गर्ने लक्ष्य राखिएको छ।नेपाली सेनासँग हाल ७० मिटर लम्बाइका तीन वटा बेलीब्रिज उपलब्ध छन्। तीमध्ये एउटा देवीघाटमा जडान भइसकेको छ भने बाँकी दुई वटा बेत्रावती र स्याफ्रुबेँशीमा राखिनेछन्।उता रसुवाको त्रिशूली क्षेत्रमा भने करिब ७५ मिटर लामो पुल आवश्यक पर्ने देखिएको छ। तर त्यति लामो बेलीब्रिज अहिले उपलब्ध नभएकाले विकल्पबारे काम भइरहेको छ।सम्बन्धित टोलीले सडक पहुँच खुल्नेबित्तिकै पुल निर्माण र पुनर्स्थापनाका कामलाई तीव्रता दिने जनाएको छ।