काठमाडौँ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा रोजगारीका लागि नेपाली नागरिकबाट आवेदन माग गरिएको छ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि १ हजार ४ सय ६४ जना नेपाली कामदार माग गरिएको हो। माग हुनेमा १ हजार १ सय ३२ जना महिला र ३ सय ३२ जना पुरुष रहेका छन्। आवेदन दिन इच्छुक नेपाली नागरिकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन आज राति १२ बजेदेखि असोज २६ गते राति ११ः५९ बजेसम्म अनलाइनमार्फत दिन सकिने विभागले जनाएको छ। इच्छुकले वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। छनोटमा परेका कामदारले मासिक ६ हजार ४ सय ४३ इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली श्रम कानुनअनुसार ओभरटाइमको सुविधा पनि उपलब्ध हुने बताइएको छ। कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्नेछ भने सातामा एक दिन बिदा पाउनेछन्। वार्षिक बिदा भने इजरायलको प्रचलित कानुनअनुसार हुने विभागको सूचनामा उल्लेख छ।