काठमाडौं । ऋण असुल गर्ने क्रममा ऋणीलाई धम्की दिने, यातना दिने, घरबाट सामान लैजाने वा गालीगलौज तथा दुर्व्यवहार गर्ने कार्य भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सकिने भएको छ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सिरहालाई पठाएको पत्रमार्फत ऋण असुलीका नाममा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न निर्देशन दिएको हो।मन्त्रालयका अनुसार ऋण तिर्न दबाब दिने नाममा ऋणीलाई शारीरिक वा मानसिक यातना दिने, घरमा रहेका सामान जबर्जस्ती लैजाने तथा किस्ता नतिरेसम्म संस्थाका कर्मचारीले घरमै बसेर दबाब दिने जस्ता गतिविधि गैरकानुनी मानिनेछन्।यस्ता कार्यबाट पीडित बनेका व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा निवेदन वा उजुरी दिन सक्नेछन्। उजुरी प्राप्त भएपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाउन प्रशासनलाई मन्त्रालयले निर्देशन दिएको छ।गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भदौ १५ गते प्राप्त निर्णयका आधारमा उक्त निर्देशन कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको जनाएको छ।मन्त्रालयले ऋण असुलीका क्रममा कानुनी प्रक्रिया बाहिर गएर गरिने दबाब, धरपकड, गालीबेइज्जती तथा अन्य दुर्व्यवहार रोक्न सम्बन्धित निकायलाई सचेत गराएको छ।
