काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्के खोला र मलेखुको बीचमा पर्ने परेवा भीरमा अवरुद्ध सडक पुनः सञ्चालनका लागि मर्मत कार्यलाई तीव्रता दिइएको छ।
त्रिशूली नदीमा आएको बाढीका कारण सडकको केही भाग भासिएपछि उक्त खण्डमा यातायात प्रभावित हुँदै आएको थियो। सडक विभागका अनुसार अहिले प्राविधिक टोलीले सडकको सतह मिलाउने, ग्रेड सुधार गर्ने तथा भासिएको भागलाई व्यवस्थित बनाउने काम गरिरहेको छ।नदी कटानका कारण जोखिमपूर्ण बनेको सडकखण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक मर्मत तथा पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको विभागले जनाएको छ।मौसमले साथ दिएमा आज साँझसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी चालकले लामो समयदेखि आवागमनमा समस्या झेल्दै आएका छन्।पृथ्वी राजमार्ग देशको प्रमुख सडकमार्गमध्ये एक भएकाले उक्त खण्ड पुनः सञ्चालनमा आएपछि यात्रु तथा मालवाहक सवारीको आवागमन सहज हुने र सडकमा देखिएको चापसमेत कम हुने अपेक्षा गरिएको छ।