काठमाडौँ ।लगातारको वर्षापछि आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका–९ मा आधा दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको छ।
घरमाथिबाट पहिरो खस्दा स्थानीय मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विकलगायतका घर प्रभावित भएका हुन्। पहिरोका कारण केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्य घरमा पनि ठूलो क्षति पुगेको छ।पहिरोले मोती उखेडाको गोठमा रहेका दुईवटा गोरु पुरिएर मरेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार घर तथा गोठमा क्षति भए पनि घटनामा मानवीय क्षति भने भएको छैन।पहिरो घरभित्रै पस्दा भाँडाकुँडा, लत्ताकपडा, खाद्यान्नलगायतका घरायसी सामग्रीमा समेत क्षति पुगेको छ। घरमा पहिरो पसेपछि प्रभावित परिवारहरू थप जोखिममा परेका छन्।लगातार वर्षा भइरहेकाले बाजुराका अन्य क्षेत्रमा पनि बाढी, पहिरो तथा डुबानबाट क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भइरहेको प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।वर्षा अझै जारी रहेकाले पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सचेत रहन तथा सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न प्रहरीले आग्रह गरेको छ।