काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास तीव्र पारिएको छ।
सडक विभागले पहिरो प्रभावित क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरेर सडक सञ्चालनमा ल्याउने तयारी अघि बढाएको हो।सडक विभागको आज दिउँसो ३ बजेसम्मको विवरणअनुसार घटनास्थलमा दुवैतर्फबाट गरी करिब ५० मिटर ट्र्याक खन्ने काम पूरा भएको छ। अहिले निर्माण गरिएको बाटो प्रारम्भिक चरणको रहेको र त्यसबाट एक्स्काभेटरलगायत निर्माण उपकरण आवतजावत गर्न सक्ने विभागले जनाएको छ।पहिरो हटाउने तथा सडक पुनः सञ्चालनमा ल्याउने क्रममा तोकिएको प्राविधिक डिजाइन र सुरक्षा मापदण्डलाई ध्यानमा राखिएको विभागको भनाइ छ। आवश्यक सावधानी अपनाउँदै कामलाई निरन्तरता दिइएको छ।राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनले कठिनाइ भोगिरहेका छन्। सडक विभागले कामलाई तीव्रता दिएसँगै राजमार्ग छिट्टै सञ्चालनमा आउने अपेक्षा गरिएको छ।भदौ १४ गते कृष्णभीर क्षेत्रमा करिब २ सय मिटर सडक भासिएपछि पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा राजधानी काठमाडौंसँग जोडिने प्रमुख सडकमार्गमा आवागमन प्रभावित भएको छ।