काठमाडौं। दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टार क्षेत्रमा पहिरो खसेपछि चौलानी नदीको बहाव प्रभावित भएको छ।
नदीमा खसेको पहिरोका कारण करिब आधा भाग थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।पहिरो खस्ने क्रम नरोकिएकाले नदी पूर्ण रूपमा अवरुद्ध हुन सक्ने जोखिमसमेत रहेको प्रशासनले जनाएको छ। नदी थुनिएर एक्कासि पानीको बहाव बढेमा तटीय क्षेत्रमा बाढी आउन सक्ने सम्भावना रहेकाले आसपासका बस्तीका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा बसोबास गर्ने स्थानीय तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै चौलानी नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित बाढीको जोखिमप्रति सचेत रहन आग्रह गरेको छ। प्रशासनले विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न पूर्वसावधानी अपनाउनसमेत अनुरोध गरेको छ।प्रशासनका अनुसार वर्षा तथा बाढीसम्बन्धी जानकारी लिन ११५५ मा सम्पर्क गर्न सकिन्छ। विपद्को समयमा सहयोग आवश्यक परे १२३४ , नेपाल प्रहरीको १सय तथा सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।नदीमा पानीको बहाव बढेको वा अन्य कुनै जोखिमपूर्ण अवस्था देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन प्रशासनले स्थानीयवासीलाई आग्रह गरेको छ।
